रौतहट,२८ माघ । रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।
उनीविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि गत पुस २९ गते हुने भनेर दिन तोकिए पनि धेरैजसो न्यायाधीश बिदामा बसेको भन्दै सो दिन पेसीमा चढेको थिएन ।
गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्रीसमेत रहेका आलममाथि लागेको छ ।