काठमाण्डौ,१ फागुन । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठूलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो ।
मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भयो । मलेसियाकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । मलेसियाका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि नेपालले सन् २०२१ मा कतारसँगको खेलमा १ सय ६४ रन बनाएको थियो । नेपालकी पूर्वकप्तान रुबिना क्षेत्रीले ऐतिहासिक शतक बनाइन् । रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी बनिन् । रुबिनाले ५९ बलमा नट आउट १ सय १८ रन बनाइन् । यस्तै पूजा महतोले ५९ रन बनाइन् । रुबिना र पूजाले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । माल्दिभ्सकी सामा अलीले ३ विकेट लिइन् ।
यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।