Logo
१८ पुस २०८१, बिहीबार

नेदरल्यान्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट

अक्षरपाटी
२०८० फागुन १३ , आईतबार ०१:०२ मा प्रकाशित

काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरूद्ध मध्यक्रमका ब्याटर चल्न नसक्दा नेपाल १७२ रनमा अलआउट भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल अन्तिम तीन बल बाँकी छदा अलआउट भयो।

खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे पनि अरु ब्याटर चल्न सकेनन्। ६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे।

अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।

आसिफ आउट भएपछि ब्याटिङमा आएका अनिल साह चल्न सकेनन्। उनी ७ रनमा आउट भए। दुई ओभरपछि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो। त्यतिबेला नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदा ५४ रन जोडेको थियो।

कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे।

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए। डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टामा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए। त्यतिबेला ऐरीले क्रिज छाडेका थिए।

दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए। यस्तै गुल्सन झा पनि ५ रनमा दत्तको बलमा क्याच भए।

आरिफ शेखले २२ रन जोडे। उनले करण केसीसँग ३६ रनको साझेदारी गरेका थिए। ४९ ओभरमा आउट हुनुअघि उनले ५० बलमा १ चौका हिर्काए।

करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि २६ रन जोडे। उनले २७ बलमा १ चौका र २ छक्का हिर्काउँदा नेपालले १५० रन कटाएको थियो।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्मा र अर्यन दत्तले ३-३ विकेट लिए। डि लीडले २ विकेट लिन सफल भए।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।