



० अक्षरपाटी विशेष
कैलाली। कहिलेकाँही सपना हो कि जस्तै लाग्छ। त्यसबेला घडीको जमाना थिएन। वैद्यबाको आँगनीबाट घाम अस्ताउने अस्ताउनेबेला जन्मिएको मान्छे। आज नेपाली राजनीतिको केन्द्रमा उदाउनु चानचुने कुरा थिएन।
किनकी उनको गाउँबाट आफ्नै जिल्लाको सदरमुकाम टेक्न समेत २६ किलोमिटर हिँडेर यात्रा गर्नुपर्थ्यो। भैँसी गोठको एक कुनामा उनी जन्मिए। त्यसबेला भैँसीको खुरले वा सर्पको डसाइबाट पनि उनको जीवन लीला बामे नसर्दै समाप्त हुनसक्थ्यो सायद।
त्यो विकटतामा नैनसिंह महर लड्दै, उठ्दै हुर्किए। धुलो टक्टक्याए-उठे। कुदे र संघर्ष गरे। १२ महिना काम गरेर नौ महिना खान पुग्ने पीडा कति गहिरो हुन्छ होला ! त्यो नैनसिँह महरको हृदयको खोपिल्टोमा आज पनि रारातालजस्तै जमेर बसेको छ सायद।
परिवारको कान्छो छोरा हुनुको सुविधा उनीमाथि सबैको स्नेह र प्रेम थियो तर पारीवारिक जीवनले भोग्ने अभावको अंस उनको पनि सरोबरी भाग लाग्थ्यो। उनले पनि त्यही भोगे, जे परिवारले भोग्यो।
आमाबाले त बाँच्नकै लागि साँच्चिकै संघर्ष गर्नुभयो। घाँस काटेर ल्याउने। दाउरा चिरेस न्यानो बनाउने। मल पर्सो बोकेर अन्न फलाउने। खेतबारी जोत्ने र परिवार धान्नका लागि अन्न उब्जाउने बुवाले कर्मको मुल्य सिकाए।
त्यो अभावले संघर्षको अभेद्दे पाठ महरलाई सिकायो। सानो घर। पर नाउलाबाट उगाएको पानी। रोडको के कल्पना। प्राथमिक विद्यालय मुस्किलले पढन पाइने। अत्याधुनिक जमानासँग मिल्ने कुरा कल्पना बाहिरै थिए। अभावले संघर्ष त सिकायो, बा आमाको त्यो संघर्षले बेइमानी गर्नुहुन्छ, इमानमा बाँच्नुपर्छ भन्ने पाठ झनै जीवनभर नमेटिने गरि सिकाइदियो। त्यो इमानको पाठ आजपर्यन्त हृदयमै बोकेर हिँड्न महरलाई अभ्यस्त बनायो।
यतिबेला नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदका बलिया आकांक्षी नैनसिंह महर देशव्यापी भेटघाट र छलफलमा सक्रिय भएका छन्। सुदूरपश्चिमबाट सुरु हुने उनको यात्रा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश हुँदै कोशी प्रदेशसम्म पुग्ने छ। त्यसक्रममा कांग्रेसका नेता–कार्यकर्तासँग महाधिवेशन, संगठन र पार्टीको आगामी दिशाबारे संवाद गर्ने उनको योजना छ।
महरले आफ्नो राजनीतिक यात्रालाई ‘संघर्षबाट सुरु भएको यात्रा, संगठनबाट खारिएको नेतृत्व’ का रूपमा प्रस्तुत गर्दै आएका छन्। डडेलधुराको भागेश्वर–३, लामिकाडेको किसान परिवारमा २०३१ साउन १४ गते जन्मिएका उनी विद्यार्थी राजनीतिबाट कांग्रेसको केन्द्रीय राजनीतिसम्म आइपुगेका हुन्।
विद्यालय तहमा अध्ययन गर्दादेखि नेपाल विद्यार्थी संघमा आबद्ध महर २०४७ सालमै १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाइ अध्यक्ष बनेका थिए। त्यसपछि नेविसंघ डडेलधुरा कार्यवाहक अध्यक्ष, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष हुँदै २०७३ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए।
राजनीतिसँगै पत्रकारितामा समेत सक्रिय रहेका महरले २०५३ सालतिर राष्ट्रिय दैनिकमा संवाददाताका रूपमा काम गरे। नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाका संस्थापक अध्यक्ष रहेका उनले पत्रकारिताबाट समाजका समस्या नजिकबाट बुझ्ने अवसर पाएको बताउँदै आएका छन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तथा एलएलबी अध्ययन गरेका छन् र विभिन्न पुस्तकसमेत लेखेका छन्।
लोकतान्त्रिक आन्दोलनका क्रममा महरले तीन महिना जेल जीवन बिताए। नेविसंघको नेतृत्वपछि उनी ‘स्कुल अफ डेमोक्रेसी’सँग जोडिएर राजनीतिक बहस, विचार निर्माण र राजनीतिको अबको यात्राबारे चिन्तनमा लागे।
महामन्त्रीका लागि संगठनदेखि नीतिसम्मको एजेन्डा
महरले महामन्त्रीको दाबीलाई केवल नेतृत्व परिवर्तनको विषयमा सीमित नराखी कांग्रेसको संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यशैली परिवर्तनसँग जोड्दै आएका छन्। उनको मुख्य नारामध्ये ‘सबैको एक, बलियो कांग्रेस’ हो।
उनले ‘गुट होइन नीति, पद होइन जिम्मेवारी, पकड होइन पुस्तान्तरण, राजनीति होइन—राष्ट्रसेवा’ भन्ने अवधारणामार्फत पार्टीभित्र नीति र जिम्मेवारीमा आधारित राजनीतिक संस्कार विकास गर्नुपर्ने धारणा अघि सारेका छन्।
उनका प्रस्तावित एजेन्डामा एक व्यक्ति, एक पद र अधिकतम दुई कार्यकाल, पार्टीभित्र आर्थिक पारदर्शिता, डिजिटल प्रविधिमार्फत पार्टी निर्वाचनलाई मितव्ययी बनाउने, युवाको सहभागिता र क्षमता अभिवृद्धि तथा गुट–उपगुटभन्दा नीतिलाई प्राथमिकता दिने विषय छन्।
‘नीतिगत रूपमा शिक्षा र स्वास्थ्यमा राज्यको भूमिका विस्तार, बालशिक्षामा लगानी, कृषिको आधुनिकीकरण, उत्पादनसँग राजनीति जोड्ने, युवाको सीप र ऊर्जालाई देश निर्माणमा उपयोग गर्ने तथा विदेशमा रहेका नेपालीको सीप र स्रोतलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ’, उनले आफ्ना प्राथमिकताका विषय प्रस्तुत गरे।
जलवायु परिवर्तन, विपद् व्यवस्थापन, डिजिटल प्रविधि र बदलिँदो विश्व अर्थतन्त्रका विषयमा कांग्रेसले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने धारणा पनि महरले सार्वजनिक गरेका छन्। उनले १५औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नरही कस्तो कांग्रेस, कसको कांग्रेस, कस्तो संगठन र कस्तो नेपाल बनाउने भन्ने बहसको अवसर बनाउनुपर्ने बताएका छन्।
संगठनसँगको सम्बन्ध बलियो आधार
महरको राजनीतिक परिचय विद्यार्थी संगठनको नेतृत्व, पत्रकारिता, लोकतान्त्रिक अभियान र कांग्रेसको संगठनात्मक भूमिकासँग जोडिएको छ। २०७३ सालमा नेविसंघ अध्यक्ष निर्वाचित भएपछि उनले संगठनको नेतृत्व गरे। त्यसपछि कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै केन्द्रीय सदस्यका रुपमा सक्रिय छन्। २०८२ को प्रतिनिधसभा सदस्य निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार रहेका उनले राष्ट्रिय राजनीतिको केस्रा केस्रा बुझ्ने अवसर पाए।
हाल उनी महाधिवेशनको तयारीसँगै विभिन्न प्रदेश र जिल्लामा पुगेर नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने क्रममा छन्। उनको भ्रमणलाई महाधिवेशनका लागि संगठनसँगको सम्बन्ध विस्तार, आफ्ना एजेन्डाबारे जानकारी र कार्यकर्ताको सुझाव संकलन गर्ने अभियानका रूपमा लिएको बताए।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। महाधिवेशनअन्तर्गत वडा, पालिका हुँदै प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ।
महरको देश दौडाहामा अबको कांग्रेसको संगठन कस्तो हुने, पुस्तान्तरण कसरी गर्ने, युवालाई पार्टीसँग कसरी जोड्ने, युवाको सीप, सोच र क्षमतालाई पार्टीले कसरी व्यवस्थापन गर्ने र कांग्रेसलाई नीति तथा कार्यक्रमका आधारमा अघि बढाउने भन्ने विषय मुख्य बहसका रूपमा अघि सारेका छन्।
नेपाली कांग्रेस नैनसिह महर १५औँ केन्द्रीय महाधिवेशन

