Logo
१९ वैशाख २०८१, बुधबार

लुम्बिनीको पाँचौं मुख्यमन्त्री बने महरा

अक्षरपाटी
२०८० चैत्र २३ , शुक्रबार ०४:०४ मा प्रकाशित

बुटवल,२३ चैत । नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमीश्वर खनालले जनाएका छन्।

प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री हुने व्यवस्था यस उपधारामा छ। उनी नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) लगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

शुक्रबार नै महराले मुख्यमन्त्रीका लागि दावी पेश गरेका छन्। उनले ४४ जना सांसदको हस्ताक्षर बुझाएका थिए।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै प्रदेशमा पनि फेरबदल आएको हो। माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले बिहीबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।