काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्।
आज राप्रपाले काठमाडौंमा आयोजना गरेको जनप्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको भन्दै सो पार्टीका अध्यक्ष लिङ्देनले गृहमन्त्रीको राजीनामा मागेका हुन्।
जनप्रदर्शनकै क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले यसअघि सरकारसमक्ष ४०बुँदे माग राखेका थियौँ । अब एउटा माग थपियो र ४१ बुँदे भयो, त्यो हो गृहमन्त्रीको राजीनामा,’ अध्यक्ष लिङ्देनले भने।
जनप्रदर्शनको क्रममा गृहप्रशासनले गरेको बल प्रयोगलाई आफूहरूले स्मरणमा राख्ने बताउँदै उनले भने, ‘ प्रहरी दमनले हाम्रा थुप्रै नेता–कार्यकर्ता घाइते बनाएको छ। हाम्रो शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने गृहमन्त्री रवि लामिछानेलाई म चेतावनी दिएर भन्न चाहन्छु, आजको दिन हाम्रो स्मरणमा रहिरहनेछ।’
गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर राप्रपा आन्दोलनमा होमिएको हो। प्रदर्शनमा प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेको थियो।