Logo
१९ वैशाख २०८१, बुधबार

सन् २०२४ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

अक्षरपाटी
२०८० चैत्र २९ , बिहीबार ०२:०४ मा प्रकाशित

काठमाडौं,२९ चैत । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो ।

एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र उक्त दरमा बढ्ने प्रक्षेपण गरेको हो । एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो ।

केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।

चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ ।

एडीबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठूलो योगदान गर्छ । एडीबीले भारतको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने अनुमान गरेको छ ।

‘विश्व अर्थतन्त्रमा देखापर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडीबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।