Logo
२३ असोज २०८१, बुधबार

टी–२० विश्वकप : घरेलु टोली अमेरिकाको विजयी शुरुवात

अक्षरपाटी
२०८१ जेठ २० , आईतबार १०:०६ मा प्रकाशित


काठमाण्डौ,२० जेठ । टी–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ । क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो ।

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका लागि कालिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए ।

यसअघि डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए ।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो । त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो ।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ । यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । नेपाल रहेको समूह (डी) मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन् । नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ ।