O शिवराज योगी
उजाड वस्तीमा
एक्लो परिन्दा झैं
भरिभराउ यो सहरमा
सुनसान मन बोकेर
म असरल्ल उभिएको छु ।
टिङरिङ्ग बज्छ
मोबाइलको रिङटोन
उठाउँ कि नउठाउँ ?
दोधारमा पर्छ उद्देग मन
सोध्नेले खबर सोध्दैन
अवस्था सोध्दैन
परिस्थिति र परिबन्ध सोध्दैन
सोध्छ त केबल स्थिति सोध्छ!
परदेशमा पसिनाले गनाएको ज्यान
एक्लोपनले लखेटिएको मन
अपनत्वबिना आत्तिएको दिल…
अवाक भएर आउँछ
मन लाग्दैन जवाफ दिन,
बोल्नेले एकोहोरो फलाकि रहन्छ-
‘देशको स्थिति ठिक छैन
घरको परिस्थिति देशमै बसेर सुध्रिदैन
परदेश नछोड्नु
यहाँ देश चलाउनेहरू नै
मौका पाए परदेशिन तम्तयार छन्।’
मेरो मनमा एउटै प्रश्न उब्जन्छ-
‘ए देश बनाउन हिंडेकाहरू
‘देशमा केही हुन्न’ भन्ने भाष्य
कसको माना खाएर निर्माण गर्दैछौ ?
लखेटेर युवा कसको देश बनाउँदै छौ?
उजाडेर आफ्नै आँगन
गर्दैछौ कसका लागि राजनीति ?