Logo
२९ पुस २०८१, सोमबार

विश्वकपमा ‘सुपर-८’ का सात टोली तय, अन्तिम टोली टुंगो भने नेपालको खेलपछि लाग्ने

अक्षरपाटी
२०८१ असार २ , आईतबार १०:०६ मा प्रकाशित

२ असार । आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह चरणका खेल अन्तिमतिर पुग्दा ‘सुपर-८’ का सात टोली तय भएका छन् भने नेपालको खेलपछि आठौं टोली टुंगो लाग्नेछ।

वेस्ट इन्डिजमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले स्कटल्यान्डलाई पराजित गरेसँगै इङ्ल्यान्ड अर्को चरणमा पुग्ने सातौं टोली बनेको छ। स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।

अस्ट्रेलियाका लागि ट्राभिस हेडले ६८, मार्कस स्टोनिसले ५९, टिम डेभिडले २४ र ग्लेन म्याक्सवेलले ११ रन बनाए। स्कटल्यान्डका लागि मार्क वाट र सफयान सरिफले दुईरदुई तथा ब्राड ह्विलले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले पाँच विकेटको क्षतिमा १८० रन बनाएको थियो। ब्रान्डन म्याक्कुमलले ६०, रिचि बेरिङटनले ४२, जर्ज मुन्सीईले ३२ र म्याथ्यु क्रसले १८ रन बनाए। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले दुई, अस्टोन अगर, नाथन इलिज र अडम जम्पाले एक/एक विकेट लिए।

यो जितसँगै अस्ट्रेलिया आठ अंक सहित समूह ‘बी’ को शीर्षस्थानमा रहेर ‘सुपर-८’ मा पुगेको हो। यो हारसँगै स्कटल्यान्ड पाँच अंक सहित रनरेट (१.२५५) का आधारमा समूहको तेस्रो स्थानमा झरेको छ। समान पाँच अंक रहेको इङ्ल्यान्ड रनरेट (३.६११) का आधारमा दोस्रो स्थानमा रहँदै ‘सुपर-८’ मा पुगेको छ।

यस्तै, समूह ‘ए’ बाट भारत र अमेरिका अर्को चरणमा पुगेका छन्। यो समूहबाट पाकिस्तानसँगै क्यानडा र आयरल्यान्ड बाहिरिएका छन्।

समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज ‘सुपर(८’ मा पुगेका छन्। यो समूहबाट न्यूजिल्यान्डसँगै युगान्डा र पपुवा न्यूगिनी बाहिरिएका छन्।

नेपाल रहेको समूह ‘डी’ बाट दक्षिण अफ्रिका आठ अंक जोडेर अर्को चरणमा पुगेको छ। दोस्रो स्थानमा रहेको बाङ्लादेशको चार, तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको दुई तथा चौथो र पाँचौं स्थानमा रहेका नेपाल र श्रीलंकाको एक-एक अंक छ।

असार १ मा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएसँगै नेपाल पनि समूह चरणबाट बाहिरिइसकेको छ। श्रीलंका यसअघि नै बाहिरिएको थियो।