Logo
८ पुस २०८१, सोमबार

आज साउनको पहिलो सोमबार, शिवालयमा शिवभक्तको भीड

अक्षरपाटी
२०८१ साउन ७ , सोमबार १०:०७ मा प्रकाशित

काठमाडौं,७ साउन। आज साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्री बताउँछन् ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

व्रत बस्नुको कारणबारे डा. शास्त्री भन्छन्, ‘व्रत शब्दले मानिसको कल्याणकारी भावनालाई बुझाउँछ । कुनै उद्देश्य प्राप्तिका लागि सनातन रुपमा गरिने उपासनाको पद्धति हो । व्रतले हाम्रो जीवन, स्वास्थ्य, आध्यात्मिक उन्नति, मनको शान्तिलाई सकारात्मक प्रभाव पार्दछ ।’

सोमबारलाई शिवको बार मानिन्छ । किनभने शिवको शिरमा चन्द्रमा छन् र ग्रह नक्षत्रअनुसार चन्द्रमाको बार सोमबार हो । फेरि अर्को प्रश्न उठ्नसक्छ साउनकै सोमबारको यति धेरै महत्व किन ? किनभने सूर्य कर्कट राशिमा जान्छन् । कर्कट राशि चन्द्रमाको राशि हो । त्यसकारण साउन महिनामै पूजा गर्ने विधान बसेको डा. शास्त्री बताउँछन् ।

डा. शास्त्रीका अनुसार शिवलिंगमा जल चढाउनुको कारण ऊर्जाको शमन गर्नु हो । ‘जहाँ शिवलिंग स्थापना गरिन्छ, त्यहाँ यति धेरै ऊर्जा जम्मा हुन्छ कि, त्यसलाई शमन गरिएन भने पृथ्वीमा प्रलय हुन्छ, त्यही भएर पनि दूध, जल, पञ्चामृत अर्पण गर्नुपर्छ ।’