Logo
१८ असोज २०८१, शुक्रबार

विश्व पर्यटन दिवस : वीरगन्ज नाकामा धार्मिक पर्यटकको भव्य स्वागत

अक्षरपाटी
२०८१ असोज ११ , शुक्रबार १२:०९ मा प्रकाशित

वीरगन्ज । पर्यटन दिवसका दिन शुक्रबार वीरगन्ज नाकामा भारतबाट आएका भारतीय पर्यटकलाई स्वागत तथा सम्मान गरिएको छ । वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले नेपालको जनकपुरको जानकी मन्दिर र काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भारतीय पर्यटकलाई नाकामै पुगेर फूलमाला लगाएर स्वागत गरेका हुन्।

त्यसअवसरमा उनीहरूलाई शुभसाइतका रुपमा दही र जुस खुवाएर काठमाडौं र जनकपुरका लागि विदाई पनि गरिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए। साथै उनीहरूलाई काठमाडौं र जनकपुरसम्म पुग्नका लागि सवारी भाडाको व्यवस्थापन पनि वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरूले गरेका उनले बताए ।

धार्मिक पर्यटनलाई बढाबा दिएर पर्यटन दिवस मनाइएको भन्दै अध्यक्ष पन्तले अब राज्यको महत्त्वमा धार्मिक पर्यटन पनि पर्नुपर्ने बताए । पशुपतिनाथ,जनकपुर ,गढिमाई, मुक्तीनाथ जस्ता पवित्र धार्मिकस्थलहरू नेपालमा प्रशस्त रहेपनि राज्यले त्यस्ता धार्मिक पर्यटकीय स्थलहरूको प्रवर्द्धन र प्रचार प्रसारमा ध्यान दिन नसकेका गुनासा पन्तले गरे। सम्भावना धेरै भएपनि राज्यका उदासीनताका कारण नेपालको धार्मिक पर्यटन ओझेलमा परेको उनले बताए ।

त्यसकारण धार्मिक पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा सरकारको ध्यान तान्नकै लागि पनि पर्यटन दिवसको अवसर पारेर वीरगन्ज नाकामा आफूहरले भारतबाट आएका धार्मिक पर्यटकहरूलाई स्वागत तथा सम्मान गरेको अध्यक्ष पन्तले बताए ।