Logo
२ कात्तिक २०८१, शुक्रबार

विश्व हात धुने दिवस आज : हात स्वच्छताबारे ९० प्रतिशत अझै अनभिज्ञ

अक्षरपाटी
२०८१ असोज २९ , मंगलबार ११:१० मा प्रकाशित

काठमाण्डौ । आज अक्टोबर १५, विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन् ?’ भन्ने नाराका विश्व हात धुने दिवस विश्वव्यापी मनाइँदैछ ।

यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । साबुनपानीले मिचिमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवम् निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ । नेपालमा सन् २००८ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो । साबुनपानीले हात धुने कामलाई सबैभन्दा सस्तो खोपका रुपमा पनि लिइन्छ । डाक्टरहरुका अनुसार साबुन पानीले २० सेकेण्डसम्म मिचिमिची हात धुनुपर्छ ।

विभिन्न सङ्क्रमण फैलिन नदिन नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सर्वसुलभ,सजिलो र महत्त्वपूर्ण उपाय भएको उनीहरुको भनाइ छ । तर अझै पनि ९० प्रतिशत मानिस हात स्वच्छताबारे अनभिज्ञ रहेका नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को योजना तथा अनुगमन शाखा प्रमुख डा. महेश्वर प्रसाद यादवले बताउनुभयो । हात धुने चेतना अभिवृद्धिका लागि नेपालमा अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ छ ।