सिरहा । सिरहामा आफ्नै साथीको हत्या घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-१३ डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या घटनामा उनकै पाँच जना साथी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही गाउँका २७ वर्षीय सन्तोष कुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेद छन् ।
कृष्णको शव गत असोज २८ गते साँझ हत्या गरी बालुवाले छोपिएको अवस्थामा सुखीपुर नगरपालिका-१० स्थित गागन खोलाको किनारमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरी आफ्नै पाँच जना साथीले उनको हत्या गरेको निष्कर्षमा पुगेको हो ।
प्रहरीका अनुसार, असोज २७ गते राति कृष्ण र रोहित सुखिपुर नगरपालिका-१० शिवचौकमा दुर्गा मेला हेर्न गएका थिए । मेलामै अन्य साथीहरू पनि भेटिए । लागूऔषध सेवनकर्तासमेत रहेका उनीहरू भेट भएपछि मेलादेखि नजिकै गागन खोलाको चौरमा गएर गाँजा र नाइट्राभेट ट्याबलेट सेवन गरे ।
लागूऔषध सेवन गरेपछि कृष्णले आफूले चिनेका एक महिला साथीलाई भेट्न बोलाए । त्यसपछि अन्य साथीहरूले आफूहरू पनि ती महिलालाई भेट्ने इच्छा जाहेर गरे । तर, कृष्ण भने सहमत भएनन् ।
त्यसपछि रिसाएर अन्य पाँच जना साथीहरूले कृष्णको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । नशाले लठ्ठिएका उनीहरूले कृष्णलाई चारैतिरबाट घेरा हाली धारिलो कैँचीले घाँटी तथा पेटमा हानेर हत्या गरेको प्रहरीको भनाइ छ ।
आ-आफ्नै घरमै लुकेर बसिरहेको अवस्थामा असोज २ गते उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । सिरहा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थपी उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।