काठमाडौं । नेपाली बजारमा पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर घटिरहेको छ । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुनको मूल्य आज मंगलबार फेरि २ हजार ६ सय रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै आज प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो ।
गत कात्तिक १५ गते भने सुनको मूल्य हालसम्मकै उच्च मूल्य रेकर्ड गर्दै प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेको छ । मूल्य घटेसँगै आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।