Logo
१३ पुस २०८१, शनिबार

एमसीसीले पुन: आह्वान गर्‍यो २९७ किमी प्रसारणलाइनको ठेक्का

अक्षरपाटी
२०८१ मंसीर १२ , बुधबार ०१:११ मा प्रकाशित

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गत निर्माण हुने ४०० केभी प्रसारणलाइन निर्माणका लागि ठेक्का आह्‍वान भएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने उक्त प्रसारण लाइनका लागि गतवर्ष आह्वान भएका सबै बोलपत्र रद्द गरिएको थियो । एमसीए–नेपालले २०८० असोज २६ गते एक सूचना जारी गर्दै विद्युत् प्रसारणलाइन निर्माणसँग सम्बन्धित सबै ठेक्का रद्द भएको जनाएको थियो ।

लप्सीफेदी-रातमाटे-न्यु हेटौडा, रातमाटे-न्यु दमौली र न्यु दमौली न्यु-बुटवल गरी तीन लट यो प्रसारणलाइन निर्माणका लागि निकालिएको छ । यसअघि नै प्रसारणलाइनको ठेक्का निकालिएको थियो । तर मूल्यांकनभन्दा धेरै गुणा बढीको मात्रै ठेक्का परेपछि रद्ध गरेर पुन: निकालिएको हो ।

तीन वटा खण्डमा विभाजन गरिएको उक्त प्रसारण लाइनको निर्माणका लागि बोलपत्र प्रस्तुत गर्ने समयसीमा २०८१ साल माघ १७ गते तोकिएको छ ।

एमसिए–नेपालले बुटवल– गोरखपुर प्रसारण लाइन अन्तर्गत नेपालमा पर्ने १८ किमि प्रसारण लाइन निर्माणका लागि १२३.६० लाख अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग २०८१ साल भदौ १४ गते गरिसकेको छ । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिनेछ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट निर्माणाधीन प्रसारण लाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानहरूका कारण बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि बोलपत्रदाताहरूको अभिरुचि बढ्ने बताए ।

गएको वर्ष उल्लेख्य प्रगति हासिल गरेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमका सन्दर्भमा यो बोलपत्र पुनःआह्वान अर्को उपलब्धि भएको उल्लेख छ । तीनवटा ४०० केभी सबस्टेसन र १८ किमि प्रसारण लाइन निर्माण कार्यमा निर्माण कम्पनीहरू परिचालन गरिसकेको एमसिए–नेपाल नेपालको ऊर्जा पूर्वाधारलाई थप सशक्त बनाउनका लागि बाँकी प्रसारण लाइन खण्डको निर्माण पनि सम्पन्न गर्ने सही मार्ग रहेको स्पष्ट भएको दाबी गरिएको छ ।

एमसीसीको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ५० लाखमा प्रसारणलाइन, सबस्टेसन र सडक निर्माण गरिनेछ । कुल ३१५ किमी प्रसारणलाइन, ४०० केभी क्षमताका तीन सबस्टेसन र दाङको भालुवाङदेखि बाँकेको शिवाखोलासम्म ७७ किमी सडक स्तरोन्नती हुनेछ ।