धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ ।
यहाँ उद्योग वाणिज्य संघले तीन दिने ‘लम्की महोत्सव २०८१’ सञ्चालन गरिरहेको छ । सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा दिइएको छ ।’
नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बिदा दिएको भन्दै आलोचना भइरहेको छ । नगरपालिकाका प्रवक्ता लवबहादुर शाहीले हिउँदको समयमा ६ दिन स्थानीय बिदा दिन पाउने नगरपालिकालाई अधिकार रहेकोले सोही अनुसार महोत्सवमा बिदा दिइएको बताए ।