Logo
१ पुस २०८१, सोमबार

जनकपुरको अपराजित यात्रा रोकियो, सुदूरपश्चिम ७२ रनले विजयी

अक्षरपाटी
२०८१ मंसीर २६ , बुधबार ११:१२ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा शीर्ष स्थानको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।

जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूर विरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्‍यो ।

जनकपुरलाई अलआउट गर्न सुदूरपश्चिमका लागि हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २-२ विकेट लिए । सैफ जैब र नरेन साउदले समान १ विकेट लिए । स्कट कुगुलेइनेल बलिङ गरेको पहिदलो बलमै विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले निर्धारित २० ओभर खेल्दै ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।