Logo
७ पुस २०८१, आईतबार

भोलि रातिदेखि सुदूरपश्चिम र कर्णालीमा हल्का वर्षाको सम्भावना

अक्षरपाटी
२०८१ पुस ७ , आईतबार १०:१२ मा प्रकाशित

काठमाडौं । यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ ।

यस वर्षको पहिलो हिउँदे वर्षा गत मंसिर २३ र २४ गते पश्चिम नेपालका भूभागमा भएको थियो ।

सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसमविद डा. विनोद पोखरेलका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्ने उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार कर्णाली र सुदूरपश्चिममा बादल लाग्ने तथा एक–दुई स्थानमा हल्का पानी पर्नसक्ने प्रक्षेपण गरेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

कर्णाली प्रदेशमा सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।

सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।