धनगढी। प्राध्यापक डा. हेमराज पन्तको नागरिक अभिनन्दन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार पन्तलाई शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको हो ।
धनगढी उपमहानगरपालिकाको संयोजनमा नागरिक अभिनन्दन गरिएको हो । धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित सुरु भएको र्याली पार्कमोडमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजकसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले माला, खादा र अभिनन्दनपत्रसहित डा. पन्तलाई सम्मान गरे ।
कार्यक्रममा मेयर हमालले डा. पन्तले समाजलाई ठूलो योगदान पुर्याएको बताउँदै उक्त योगदानलाई संस्थागत गर्न नागरिक अभिनन्दन गरिएको बताए । ‘यो सुरुवात मात्रै हो,’ उनले भने, ‘समाजमा योगदान गर्नेलाई प्रेरित गर्न आवश्यक छ । सोहीअन्तर्गत अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिको पनि सम्मान गर्न आवश्यक छ ।’
हमालले धनगढी उपमहानगरले बनाएको कक्षा सातको पाठ्यक्रममा डा. पन्तको जीवनी पनि समेटिएको बताए । नागरिक अभिनन्दनपछि डा. पन्तले आफ्नो बाँकी जीवन पनि धनगढीवासीकै हितका लागि बिताउने बताए ।
धनगढीलाई कर्मथलो बनाएका पन्तको २०११ साल फागुन २१ गते डोटीको सिलगढीमा जन्म भएको थियो । पन्तको पुर्ख्यौली घर भने डोटीकै उच्चाकोटमा हो । प्रारम्भिक शिक्षा डडेल्धुरामा पूरा गरेका उनले उच्चाकोटकै सीताराम विद्यालयबाट कक्षा ८ पास गरेका थिए । उनले तत्कालीन दरबार हाईस्कुलबाट २०२८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए ।
२०३१ सालमा त्रिचन्द्र कलेजबाट आइकम गरेका डा. पन्तले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाइ पूरा गरे । उनले २०३७ साल माघ १ गतेदेखि कैलाली वाणिज्य क्याम्पसमा पढाउन सुरु गरेका थिए । पछि कैलाली वाणिज्य क्याम्पसको नाम परिवर्तन भएर कैलाली बहुमुखी क्याम्पस भयो । पन्तले कुमाउ विश्वविद्यालयबाट २०४५ सालमा विद्यावारिधि गरेका थिए ।
विद्यावारिधि गरेकै वर्ष २०४५ सालमा उनी क्याम्पस प्रमुख भएका थिए । २०६६ सम्म क्याम्पस प्रमुख रहेका उनी २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नियुक्त भए । चारवर्षे कार्यकाल पूरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भएका उनले थप दुई वर्ष कैलाली क्याम्पसमा पढाएका थिए ।
नागरिक अभिनन्दन