Logo
२७ चैत्र २०८१, बिहीबार

राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौको क्षति

अक्षरपाटी
२०८१ फागुन १५ , बिहीबार १०:०२ मा प्रकाशित

मुगु । नेपालकै ठूलो ताल, रारा तालको किनारमा रहेको डाफे होटेलमा बुधबार राति आगलागी भएको छ। काठका संरचनाले बनेका चारवटा भवनमा राति १२ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज रक्षक, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए।

राति १२ बजे नेपाल प्रहरीका हवल्दार विक्रम बहादुर विष्टलाई नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायव निरीक्षक दीपक केशीको नेतृत्वमा १५ जना प्रहरी टोली रारा पुगेको थियो।

हवल्दार विष्टलाई रारामा रहेका प्रहरीले दिएको जानकारी अनुसार होटेलको भान्साबाट सुरु भएको आगलागीले त्यहाँ रहेका खाना पकाउने ग्यास पड्किँदा अन्य तीनवटा भवनमा समेत आगो फैलिएको थियो। कम्तिमा चारवटा काठका भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

रारा घुम्न आएका १०० भन्दा बढी पाहुनालाई होटलबाट उद्धार गरी सेना, प्रहरी र सशस्त्र प्रहरीले नजिकै रहेका माझघट्टका होटेल, नेपाली सेनाको ब्यारेक तथा निकुञ्ज कार्यालयमा सारिएको थियो। चारवटा भवन, लजिङका सामग्री तथा होटेलका सम्पूर्ण सामग्री जलेर नष्ट भएकाले करोडौँको क्षति भएको अनुमान गरिएको छ।

प्रहरी हाल पनि घटनास्थलमै रहेको र स्थलगत मुचुल्का पछि वास्तविक क्षतिको आँकलन गर्न सकिने हवल्दार विष्टले बताए।

रारा ताल घुम्न आउने पर्यटकका लागि रारा किनारमा रहेको यो एक मात्र होटेल थियो। रारामा डाफे होटेल र हेरिटेज होटेल रहेका भए पनि करिब तीन वर्षअघि हेरिटेज होटेलमा आगलागी भएपछि सेवा प्रभावित भएको थियो। यही बीचमा डाफे होटेलमा पनि आगलागी भएपछि अब रारा घुम्न आउने पर्यटकलाई रारा ताल किनारमा बास बस्न सहज नहुने भएको छ। पर्यटकले अब रारा ताल घुमेपछि बास बस्न माझघट्ट, सल्लेरी, लामाचौर वा मुर्माटप जानुपर्नेछ।

आगलागी बिहान ३ बजेतिर नियन्त्रणमा आएको थियो।

होटेलमा आगलागी