Logo
१ चैत्र २०८१, शनिबार

धनगढीमा सिप तथा रोजगार मेला : १ हजार भन्दा बढीले नि:शुल्क सिप सिक्दै

अक्षरपाटी
२०८१ फागुन १८ , आईतबार ०४:०३ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिका–१ को खुला मञ्चमा अहिले सिप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । करिब दुई बिघा क्षेत्रफलमा फैलिएको यस मेलाले सुदूरपश्चिमका १ हजार ४० जना युवालाई २९ वटा विभिन्न विधामा सिप सिकाउने अवसर प्रदान गरिरहेको छ ।

फागुन ८ गतेदेखि सञ्चालित यो मेला चैत ८ गतेसम्म जारी रहनेछ । तालिम सञ्चालनका लागि मेलास्थलमा दुई वटा ठुला कार्यशाला हल बनाइएको छ ।

पहिलो हलमा १८ वटा विभिन्न तालिम सञ्चालन भइरहेका छन्, जसमा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई, एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम समावेश छन् ।

दोस्रो हलमा ११ वटा तालिम सञ्चालनमा छन्, जसमा सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम निःशुल्क प्रदान गरिएको छ ।

यस्तै, मेलामा १२ वटा वर्कसप सञ्चालन भइरहेका छन्, जसमा प्रशिक्षार्थीहरूले प्रत्यक्ष रुपमा काम गर्दै सिक्ने अवसर पाउँछन् ।

दैनिक दुई चरणमा १८ वटा तालिम सञ्चालन भइरहेका छन् । बिहान ८ बजेदेखि १२ बजेसम्म पहिलो चरण र दिउँसो १ बजेदेखि ५ बजेसम्म दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ । बाँकी ११ वटा तालिम बिहान १० देखि ४ बजेसम्म एकैचरणमा सञ्चालन हुन्छन् ।

तालिम सञ्चालन तथा व्यवस्थापनका लागि निर्देशन समिति, समन्वय समिति तथा सञ्चालन समिति गठन गरिएको छ । २९ वटा तालिम व्यवस्थापन गर्न संयोजक, विषयगत क्षेत्रका ८ जना व्यवस्थापक, ८ जना सह–व्यवस्थापक, ९२ जना प्रशिक्षक, १० जनाको सचिवालय टिम, १४ जना इभेन्ट व्यवस्थापन टिम, १० जना सुरक्षा टिम, ३५ जना स्वयंसेवक टिमले मेलाको समन्वय तथा सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिमका नौ जिल्लाका ८८ स्थानीय तहबाट आवेदन दिएका ४ हजार आठ तीस जनामध्ये अन्तिम छनोटमा परेका १ हजार ४० जना युवा अहिले विभिन्न सिप सिकिरहेका छन् । तालिममा सहभागी हुनेमा ५७० जना पुरुष र ४७० जना महिला छन् । उनीहरू सुदूरपश्चिमका ३९ स्थानीय तहका हुन् ।

मेलाको अर्को मुख्य उद्देश्य भनेकै रोजगारी सिर्जना गर्नु हो । मेलापछि पाँच दिनको उद्यमशीलता तालिम तथा दुई दिने रोजगारदाता सम्मेलन गर्ने योजना छ । अहिलेसम्म विभिन्न रोजगारदाताले मेलामा ४६ जना सिपयुक्त कामदार आवश्यक परेको भन्दै आवेदन दिएका छन् ।

‘निःशुल्क रुपमा प्रदान गरिएको तालिममा सिक्ने अवसर पाउँदा प्रशिक्षार्थीहरु निकै उत्साहित देखिन्छन । सिप तथा रोजगार मेलाका लागि करिब २ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलाका विभिन्न पक्षहरू– तालिम व्यवस्थापन, प्रशिक्षकहरूको पारिश्रमिक, सामग्री खरिद, सचिवालय सञ्चालन, स्टल व्यवस्थापन, सुरक्षाका उपायहरू तथा प्रचारप्रसारको खर्चलाई ध्यानमा राख्दै यो बजेट अनुमान गरिएको हो ।

धनगढीमा पहिलोपटक आयोजित यो व्यापक सिप तथा रोजगार मेला बेरोजगार तथा स्वरोजगार खोजिरहेका युवाहरूका लागि ठुलो अवसर बनेको स्थानीयको भनाइ छ ।

धनगढी उपमहानगरपालिका सिप तथा रोजगार मेला