Logo
३० चैत्र २०८१, आईतबार

काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको बस दुर्घटना,११ जना घाइते

अक्षरपाटी
२०८१ चैत्र २७ , बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं । बिपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिकामा बस दुर्घटना हुँदा ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बिहीबार बिहान करिब ८:२५ बजेको समयमा काभ्रे जिल्लास्थित बीपी राजमार्ग सडक खण्ड अर्न्तगत रोशी गाउँपालिका–९ स्थित दाउन्नेमा काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१– ००६ ख १३३९ नं को यात्रुबाहक बस दुर्घटनामा परेको हो । पानी परेका कारण चिप्लो बाटोमा ब्रेक नलाग्दा बस चिप्लएर खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३९४ नं को मिनी बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बस सडकबाट अन्दाजी २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा बसमा सवार १५ जना मध्ये ११ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्यकेन्द्र मंगलटारमा पठाइएको उनले बताए ।

बस चालकलाई इलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस दुर्घटना