काठमाडौं । राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको विशेष ब्यूरोले भारतबाट पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याएको छ ।
हाल उनलाई सिआईबीको टोलीले स्कर्टिङ गर्दै झापाको भद्रपुर विमानस्थलतर्फ लगिरहेको छ । केहीबेरमै उनलाई बुद्ध एयरको विमानबाट काठमाडौं पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रसाईंको आगमनको प्रतीक्षामा आज बिहानदेखि नै मेची पुलमा उनका परिवार र समर्थक भेला भएका थिए ।
यही १५ चैतमा राजधानीमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईं त्यसपछि फरार भएका थिए । उनलाई समात्न नेपाल प्रहरीले तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरेर भारतसम्म खोजी अभियान चलाएको थियो ।
पक्राउ परेका उनीमाथि प्रदर्शनका नाममा हिंसा भड्काएको, सुरक्षाकर्मीमाथि गाडी कुदाएको, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोप छ ।
उक्त प्रदर्शनमा ४० वटा संरचनामा तोडफोड, ६९ वटा सवारी साधनमा क्षति, दुई जनाको मृत्यु र १२९ जना घाइते भएका थिए । पाँच जना अझै अस्पतालमै उपचाररत छन् ।
प्रसाईं फरार भए पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पहिले नै पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धान जारी छ ।
दुर्गा प्रसाईं