Logo
२१ वैशाख २०८२, आईतबार

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अक्षरपाटी
२०८२ वैशाख २१ , आईतबार १२:०५ मा प्रकाशित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तरराष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको उहाँले जानकारी दिनुभयो ।

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एयरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाडौँ विमानस्थलसहित काठमाडौँ बाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिनुभयो । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौँ आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।।

हवाई उडान प्रभावित