काठमाडौं । यही वैशाख २६ बाट सार्वजनिक हुन लागेको फिल्म ‘जार’ को ललितपुरमा भव्य प्रिमियर गरिएको छ।
प्रिमियरमा फिल्मको टिमसहित अन्य फिल्मकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रह्यो। प्रिमियरअघि केही समय मौलिक नाचगान प्रस्तुत गरिएको थियो।
कथाकार इन्द्रबहादुर राईको ऐतिहासिक कथा ‘जार’ मा आधारित चलचित्र जारमा तत्कालीन समाज, संस्कृति, व्यवस्था र विशेष गरि जारको कथालाई यस चलचित्रमार्फत देखाउन खोजिएको छ।
चलचित्र जारले सकारात्मक प्रतिक्रिया पाएको छ। फिल्म, कला साहित्य सम्बद्ध दिग्गज व्यक्तित्वहरू, विभिन्न राजनीतिज्ञ, व्यापारी, समाजसेवीसहितको उपस्थिति रहेको थियो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, हिसिला यामी, अभिनेत्री मनिषा कोइरालाको उपस्थिति थियो।
सिक्किममा छायांकन गरिएको यो फिल्मको यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर गरिएको थियो, जहाँ फिल्मले सकारात्मक प्रतिक्रिया पाइसकेको छ।
साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित रहेर २२५ वर्ष अगाडिको कथामा ‘जार’ बनेको हो।
फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा सौगातसहित अनुपविक्रम शाही र अभिनेत्री गीताञ्जली थापालगायत कलाकारहरूको मुख्य भूमिका छ। गीताञ्जली भारतको राष्ट्रिय चलचित्र अवार्ड जितेकी अभिनेत्री हुन्।
‘जार’ शुक्रबारदेखि नेपाल अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउन लागेको हो।