Logo
६ जेठ २०८२, सोमबार

सांसद र डीएसपीको गाडी ठोक्किए, चार सांसद घाइते

अक्षरपाटी
२०८२ जेठ ६ , सोमबार ०३:०५ मा प्रकाशित

विराटनगर । मोरङको कानेपोखरीमा कोशी प्रदेशसभा सदस्य र नेपाल प्रहरीका एक जना डीएसपीको गाडी आपसमा ठोक्किएका छन् ।

बीएई १४०६ र बा ५ च ३५२० नम्बरको गाडी आपसमा ठोक्किएका हुन् । यसमध्ये बा ५ च ३५२० नम्बरको गाडीमा जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी सन्तोष खड्का सवार थिए ।

झापाबाट विराटनगर जाँदै गरेको प्रदेशसभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा अर्को गाडीसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेका गाडीमा प्रदेशसभा सदस्यहरू नम्वरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ रहेको प्रहरीले जनाएको छ ।

सांसद चढेको गाडी भने मैयाँ श्रेष्ठको रहेको बताइएको छ । डीएसपी खड्का निदाएर आफूहरू चढेको गाडीसँग ठोक्किएको सांसदहरूले आरोप लगाएका छन् ।

चारै जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।