Logo
२२ जेठ २०८२, बुधबार

भन्सार प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सार जाँचपास ठप्प

अक्षरपाटी
२०८२ जेठ १३ , सोमबार ११:०५ मा प्रकाशित

धनगढी । कैलाली भन्सार कार्यालय प्रमुख अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट गर्ने समूहलाई कानुन अनुसार कारबाही गर्न माग गर्दै भन्सारका कर्मचारीहरुले आज काम ठप्प पारेका छन् ।

भन्सार एजेन्ट महासंघ नेपालको नेतृत्वमा कर्मचारीहरुले आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने, कालोपट्टी बाँधेर काम गर्ने, भन्सार जाँचपास नगर्ने निर्णय गरेको भन्सार एजेन्ट महासंघ नेपालका अध्यक्ष प्रविन कुमार वैद्य बताएका छन् ।

महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग पहिलो चरणको विरोध स्वरुप काम ठप्प पारिएको बताए । माग सम्बोधन नभए अझै कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने उनले बताए ।

कैलाली भन्सार कार्यालय प्रमुख तिम्सिनामाथि कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले शनिबार राति कुटपिट गरेको सीसीटीभी फुटेज बाहिरिएको थियो ।