काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीसँग सरकारले वार्ता गर्न सुरु गरेको छ
यातायात व्यवसायी र गृहमन्त्री रमेश लेखकबीच वार्ता सुरु भएको हो । गृह मन्त्रालयमा सुरु भएको वार्तामा एक दर्जनको संख्यामा यातायात व्यवसायी संघ, संगठन र महासंघका पदाधिकारीहरु सहभागी भएका छन् ।
यातायात व्यवसायीले विभिन्न माग राखेर आज बिहानदेखि सार्वजनिक सवारी साधन बन्द गरी देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
सार्वजनिक यातायात बन्दका कारण सोमबार बिहानदेखि देशभरका सवारी साधन सञ्चालनमा आएको छैन । यसले गर्दा सर्वसाधारण यात्रुका साथै नेपाल घुम्न आएका पर्यटकलाई ओहोर दोहोर गर्न समस्या सिर्जना भएको छ ।
पछिल्लो समयमा गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवालाई सञ्चालन गर्ने नीतिगत व्यवस्था गरेपछि यातायात व्यवसायीहरुले बिरोध जनाउँदै देशभर अनिश्चितकालको लागि बन्दको आह्वान गरेको हो । विश्वभर लोकप्रिय हुँदै गएको ‘राइड सेयरिङ’ सेवालाई नेपालका यातायात व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै बन्द कार्यक्रमबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने औल्याएको छ ।
संघर्ष समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र नेपाल यातायात मजदूर संघ सहभागी छ ।