Logo
१ असार २०८२, आईतबार

आहारपुरक सामग्रीको मूल्यमा मनोमानी, कतिपय चिकित्सकलाई कमिसनको प्रलोभन

अक्षरपाटी
२०८२ जेठ ३२ , शनिबार १०:०६ मा प्रकाशित

काठमाडौं । बजारमा आहारपुरक सामग्रीको विकृति बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

आहारपुरक सामग्रीमा मौलाउँदै गएको विकृति कम गर्न सरकार र नेपाल आहारपुरक सौन्दर्यबद्र्धक संघ (एनएनसीए) बीच सहकार्य थप बढाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

बजारमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लागू गर्ने सरकारी प्रयासका बीच पनि न्युट्रास्युटिकल र खाद्यपूरक वस्तुहरूको विकृति रोकिएको छैन।

उपभोक्ता संरक्षणका नाममा थुप्रै रणनीति बनाइए पनि आहारपुरक तथा सौन्दर्यबद्धक व्यावसायमा देखिएको अराजकता अहिले उपभोक्ताकै समस्यामध्ये एक बन्दै गएको छ।

एनएनसीएका अध्यक्ष र महासचिवसहितको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग भेटवार्ता गरी यो समस्याप्रति ध्यानाकर्षण गराएको छ।

भेटमा अध्यक्ष विप्लव रञ्जित र महासचिव सुरज पौडेलले एमआरपी प्रणालीमा देखिएका समस्या समाधानका लागि संघ स्थापनाकालदेखि नै साथमा रहेको र भविष्यमा पनि मजबुत सहकार्य गर्ने प्रतिबद्धता जनाए।

महासचिव पौडेलले विभागसँगको सहकार्यलाई सुदृढ बनाउँदै खाद्य र न्युट्रास्युटिकल बजारलाई ‘स्वस्थ, मर्यादित, सुरक्षित र उपभोक्तामैत्री’ बनाउन आफूहरू लागिपरेको जिकिर गरे।

हाल बजारमा विक्री भइरहेको धेरैजसो न्युट्रास्युटिकलको मूल्य स्वेच्छाचारी ढंगले निर्धारण भइरहेको छ।

केही व्यवसायीहरूले एमआरपी स्वयं तोक्ने, नक्कली मेसिन प्रयोग गरेर मूल्य छाप्ने र कुनै स्थायी कार्यालयसमेत नराखी कारोबार गर्ने गरेको प्रमाण भेटिएको वाणिज्य विभागले जनाएको छ।

अझ कतिपय चिकित्सकहरूलाई उच्च कमिसनको प्रलोभन देखाएर अनावश्यक न्युट्रास्युटिकल औषधि सिफारिस गराउने प्रवृत्ति बढ्दो छ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले एमआरपी कार्यान्वयन वाणिज्य विभाग मात्रको काम नभएर सम्पूर्ण व्यवसायी र उपभोक्ताको साझा उत्तरदायित्व भएकाले यसलाई काठमाडौँमा मात्र सीमित नराखी देशैभर सशक्त बनाउँदै लैजानुपर्ने बताए।

उनले यो अभियान निकै अघि बढिसकेको र अब यसलाई कुनै बहानामा रोक्न नदिइने स्पष्ट गरे।