
काठमाडौं । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा हलो अडकिएर लम्बिएको काँग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो बस्दैछ।
कांग्रेस संस्थापन पक्षले फागुन २१ का लागि तोकिएको निर्वाचन सकेर १५ औँ महाधिवेशन गर्ने मनसाय बनाएको छ भने महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश पौडेललगायतले प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नभए विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै आएका छन्।
सहमतिको प्रयासका लागि गत शुक्रबार र आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको थियो।
आज बस्ने बैठकमा संस्थापनइतर पक्ष र संस्थापन पक्षकातर्फबाट महाधिवेशनको अलग–अलग कार्यतालिका पेश गर्ने तयारी भएको बुझिएको छ।
सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आउँदो बैशाख २५ देखि २८ मा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी गरेका छन्।
संस्थापन इतरका नेताहरूले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइ सकेका छन्।
नेपाली कांग्रेस


