Logo
१ असार २०८२, आईतबार

अक्षरपाटी समाचार प्रभाव : बजेट रोकेर छानविन थालियो

अक्षरपाटी
२०८२ असार १ , आईतबार ०६:०६ मा प्रकाशित

गाउँपालिका र वडापालिका रमिते मात्रै

O शंकर खैराली

खैराला । कैलालीको चुरे ४ खैरालामा रहेको राणाकालीन गर्भा दरबारमा निर्माण भइरहेको पर्खालबारे छानविन हुने भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा भइरहेको पर्खाल निर्माणबारे विवाद भएपछि मन्त्रालय छानविन गर्न वाध्य भएको हो।

पर्खाल निर्माणले दरबार क्षेत्रको संरक्षण होइन कि साविक जमिन समेत हिनामिना भएको समाचार अक्षरपाटीमा सार्वजनिक भएपछि विवाद सतहमा आएको हो ।

मन्त्रालयको १० लाख बजेटमा स्थानीय प्रकाश सापकोटाले दरबार क्षेत्रमा पर्खाल निर्माणको जिम्मा लिएका थिए।

चुरे गाउँपालिका ४ मा रहेको करिब ९० वर्ष पुरानो यो सुदूरपश्चिम प्रदेशमै पुरातात्विक महत्वको एक मात्र राणाकालीन दरबार हो। यद्यपि यो दरबार पुरातत्व विभागको नजरमा परेको छैन ।

उक्त दरबारका हकवाला बहादुर समशेर राणाले २०४२ साल जेठ ११ गते साविक खैराला गाउँपञ्चायतका नाममा ४० हजार लिएर ६-१२-३ क्षेत्रफल जग्गा पास गरेको देखिन्छ।

बस्नेत प्राविका नाममा रहेको जगा ।
खैराला गाउँपञ्चायतका नाममा रहेको जग्गा ।

दरबारको नाममा रहेको करिब १२ रोपनी जमिनमध्ये २०४३ साल ९ महिना ३० गतेका दिन तत्कालीन प्रधानपञ्चको पालामा खैराला पञ्चायतले ५-६ रोपनी जमिन बस्नेत प्राविलाई उपलब्ध गराएको बस्नेत प्राविका पूर्व शिक्षक नारायणदत्त योगीले बताए।

गाउँपालिका र वडा कार्यालयले भने आफ्नो पालिकामा भएको ऐतिहासिक सम्पत्ति संरक्षणमा कुनै चासो नदेखाएको स्थानीय शिक्षक भीम चन्दको आरोप छ।

सोही जमिनमा वडा कार्यालय भए पनि अनियमित तरिकाले पर्खाल निर्माण हुँदा पनि मौन बसेको देखिन्छ ।

दरबारको क्षेत्रफल मिचेर केही स्थानीय बासिन्दाले घर गोठ समेत बनाएको चुरे ४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछानेले बताए । उनले योजना कसले, कुन उद्देश्यका लागि हाल्यो भन्नेबारे आफूलाई जानकारी नभएको बताए ।

आफ्नो क्षेत्रमा रहेको ऐतिहासिक महत्वको विषयमा पालिकाको विशेष चासो हुनुपर्ने हो तर गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी यस विषयमा मन्त्रालयले आफूसँग कुनै समन्वय र सहकार्य नै नगरेको दाबी गर्छन ।

२०८१ चैत ५ गते मन्त्रालयले दिएको कार्यादेश, जहाँ पालिका र वडापालिकालाई जानकारी,
सहयोग र सहजीकरणका लागि उल्लेख गरेको छ ।

उनले पालिकाले अमिन बोलाएर सिमाना छुट्याएको भए पनि ठेकेदारले आफ्नो मनोमानी काम गरेको बताए।

तर पूर्जामा भएको दरबारकै जमिन करिब दुई रोपनी मात्रै समेटेर पर्खाल निर्माण गरिएको जिकिर स्थानीय कांग्रेस नेता हेम बिष्टको छ।

दरबार संरक्षणमा आफ्नै पालिका पनि उदासिन त थियो नै दरबारको नाममा भएको जमिन पनि हिनामिना गरिएको समाचार बाहिरिएपछि स्थानीय युवा पर्खाल निर्माणको विरोधमा उत्रिएका छन्।

नेता विष्टलगायतको अगुवाइमा स्थानीय शिक्षक भीम चन्द, उत्तम बहादुर गुरुङ, भरत हमाल र खुमानसिंह चन्दले मन्त्रालयमै पुगेर पर्खाल निर्माण कार्य रोक्न र भुक्तानी नदिन दबाब दिएका हुन्।

पर्खाल निर्माणलाई लिएर विवाद सिर्जना भएपछि आफूहरुले छानविन प्रक्रिया अघि बढाएको प्रदेश सरकारको पर्यटन मन्त्रालय पर्यटन इकाइ प्रमुख डबल बोहराले बताए।

उनले भने, ‘हामीले मन्त्रालयका योजना अधिकृत दानबहादुर थापाको संयोजकत्वमा छानविन सुरु गरिसकेका छौँ । अहिले बजेट निकासा रोकिएको छ । गलत भएको रहेछ भने हामी सुधार्छौँ ।’

स्थानीय युवाहरुले भने दरबारको सिमाना बाहिर छोडेर बनाइएको पर्खाल भत्काउनुपर्ने, बजेट निकासा गर्न नहुने तथा बस्नेत प्राविको जमिन समेत हिनामिना भएकाले सो पनि दुरुस्त हुनुपर्ने माग सरोकारवालासँग राखेका छन्।

गर्भा दरबार क्षेत्रकाे नक्सा ।

(फलोअप समाचार)