Logo
२६ वैशाख २०८३, शनिबार

रवि-बालेन सहयात्रा : ७ बुँदे सहमति, कैयाैँ खुशी, केहीलाई छटपटी

अक्षरपाटी
२०८२ पुस १३ , आईतबार ११:१२ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनाबाट बाहिर आएदेखि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग सघन छलफलमा जुटे।

करिब सातादिन लामो सघन छलफलपछि आइतबार सूर्य नउदाउँदै रवि र बालेनबीच सहयात्राको सहमति भएको छ।

७ बुँदामा तय गरिएको सहमति पत्रमा उनीहरुले आज बिहान ४ बजे हस्ताक्षर गरेर नेपाली राजनीतिमा नयाँ तरंग ल्याएका हुन्।

शनिबार दिनभर गोप्पे राखेर गरिएको गहन छलफलको नजिता झिसमिसे उज्यालोसँगै सहमतिमा परिणत गरेपछि सामाजिक सञ्जाल यही विषयले भरिएको छ।

जेनजी आन्दोलनको अपनत्व लिएर उनीहरुका मागहरुको सम्बोधन गर्नेदेखि आउँदो १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने प्रतिवद्धतादेखि आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि बालेनलाई संसदीय दलको नेता र देशको भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको छ।

रास्वपाको नाम, चिन्ह, झण्डा र संकेत मात्र होइन बालेनले रविलाई पार्टी सभापति स्वीकार्ने कुरा सम्झौतामा उल्लेख छ।

टिप्पणीकर्ताहरुले यो सम्झौता भारतमा बीजेपीले नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनाएको शैलीको अनुसर गर्न खोजेको बताएका छन्।

रवि बालेनबीचको सहमतिलाई लिएर सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भनेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना १ गन्तव्य तय हुँदैछ।’

तर नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने यो सम्झौतालाई लिएर नकारात्मक भाव व्यक्त गरेका छन्।

उनले रवि र बालेनको सहमतिपछि भदौ २३ र २४ को विध्वंसका योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको टिप्पणी गरेका हुन्।

आफै पनि सहमतिका लागि बारम्बार बालेन र रविसँग भेटवार्ता गरेका ऊर्जामन्त्री कुलमान घिसिङले पनि सम्झौतालाई हार्दिकतापूर्वक लिन सकेका छैनन्।

उनी संरक्षण रहेको उज्यालो नेपाल पार्टीले रास्वपा र बालेनको सम्झौताले जेनजी आन्दोलनको भावनालाई सम्पूर्ण रूपमा समेट्न नसकेको टिप्पणी गरेको छ।

जेनजी आन्दोलनपछि चर्चामा आएका द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले लेखेका छन्, ‘अब आरएसपी (रास्वपा)ले चुनावको तयारीमा ध्यान दिन सक्छ। हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौंं । जय देश।’

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले ‘राष्ट्रिय राजनीतिमा दलहरु शक्तिशाली हुने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ। राजनीतिको प्रतिस्पर्धामा सकारात्मक रुपमा नै लिनुपर्छ’, भनेर प्रतिक्रिया दिएका छन्।