काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटा (फेसबुक) लगायतका कम्पनीले नेपाललाई हेपेको र देशको सार्वभौमसत्तामाथि नै प्रश्न उठाएको आरोप लगाएका छन् । मंगलबार संसदमा आफ्नो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले पटक-पटकको आग्रहपछि पनि मेटाजस्ता कम्पनी दर्ता प्रक्रियामा आउन अटेर गरेको सुनाए ।
मन्त्रालयले तीनपटकसम्म दर्ताका लागि आह्वान गर्दा पनि ती कम्पनीहरूले बेवास्ता गरेको उनको भनाइ थियो । “म दुःखका साथ भन्न चाहन्छु । तिनीहरूले हाम्रो देशलाई एउटा सार्वभौम देशको रूपमा पनि नमान्ने, हामीलाई चाहिँ हेपेर बोल्ने ।”
मन्त्री गुरुङले मेटाका प्रतिनिधिहरूले ‘तिमीहरूको देशमा सामाजिक सञ्जाल नियमन गर्ने विधेयक नै छैन’ भन्दै आलोचना गर्ने गरेको सुनाए । यही कानुनी कमजोरीको फाइदा उठाउँदै ती कम्पनीहरू दर्ता प्रक्रियाबाट पन्छिन खोजेको उनको आरोप थियो ।
हाल नेपालमा ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८०’ मात्रै कार्यान्वयनमा छ । यसैको आधारमा सरकारले टिकटकलाई बन्द गरेको र पछि दर्ता प्रक्रियामा आएपछि पुनः सञ्चालन अनुमति दिएको थियो । तर, मेटाजस्ता ठुला प्लेटफर्मले निर्देशिकालाई पर्याप्त नठानेको मन्त्रीको गुनासो छ । यही समस्या समाधान गर्न सरकारले सामाजिक सञ्जाल विधेयक संसदमा पेस गरिसकेको उनले जानकारी दिए ।
मन्त्री गुरुङले दर्ता नहुँदा ती प्लेटफर्ममा आउने सामग्रीको अनुगमन, मोडरेशन र फिल्ट्रेसन गर्न नसकिएको बताए । दर्ता भएर ‘पोइन्ट अफ कन्ट्याक्ट’ तोकिएको भए आपत्तिजनक सामग्री हटाउन र नियमन गर्न सहज हुने उनको भनाइ थियो ।
मन्त्री गुरुङले नेपालको कानुन नमान्ने र नियममा नआउने सामाजिक सञ्जाललाई सरकारले व्यवस्थापन गर्ने चेतावनी दिए ।
पृथ्वीसुब्बा गुरुङ फेसबुक