पोखरा। कास्कीको पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तार अघि बढाएको छ ।
अस्पतालले नागरिकको जीवन रक्षा र सहरदेखि ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा विस्तारको लक्ष्यअनुसार नवीनतम् र अत्याधुनिक सेवा प्रदान गर्ने कार्य तीव्र बनाएको हो ।
अस्पतालका निर्देशक डा. अभिषेक मास्केका अनुसार क्यान्सरको उपचारका लागि अत्याधुनिक तथा गुणस्तरीय सेवा प्रदान गर्नेगरी क्यान्सर उपचार विभागको सुरुवात गरिएको हो ।
उनले भने, ‘विशेषगरी, गण्डकी प्रदेशका सबैजसो जिल्लाका क्यान्सरपीडित नागरिकलाई उपचार सेवा प्रदान गर्ने हाम्रो प्रयास हो । गण्डकी प्रदेशबासीले काठमाडौँ वा भारतको दिल्ली जान नपरोस् । खर्च बचत होस् भन्ने नै हाम्रो अभिप्राय हो ।’
डा. मास्केले क्यान्सर उपचारका लागि सुविधा सम्पन्न विभागको सुरु गरिएको र विभागले अत्याधुनिक प्रविधिबाटै उपचार गर्ने बताए ।
उनका अनुसार रेडियो थेरापी (विकिरण उपचार पद्धति), किमो थेरापी, हर्मोन थेरापी, टार्गेटेड थेरापी, इमुनो थेरापी, अन्को सर्जरी (क्यान्सरको शल्यक्रिया) सहित क्यान्सरका बिरामीलाई चाहिने सबै किसिमको उपचार हुने छ ।
अस्पतालले स्तन क्यान्सर, सानो तथा ठूलो आन्द्राको क्यान्सर, मलद्वार तथा टाउकोसम्बन्धी क्यान्सर तथा शरीरको सबै भागमा देखिने क्यान्सर रोगको उपचार सेवा आरम्भ गरेको छ ।
डा. मास्केले भने, ‘क्यान्सरको उपचार यसअघि पनि गरिन्थ्यो । तर अब स्तरोन्नती गरेर सम्पूर्ण सेवा विस्तार गरिएको छ ।’