धनगढी। कञ्चनपुर जिल्लामा हात्तीको आक्रमणबाट बर्षेनी मानवीय क्षति हुने गरेको छ।
हात्तीका कारण स्थानीय बासिन्दा त्रसित हुने गरका छन्। यहीबेला शुक्लाफाँटा नगरपालिकाको चुरे फेदीको वन क्षेत्रमा जंगली हात्तीको बथान देखिएको छ।
भारतको दुधुवा नेसनल पार्कमा वर्खाको पानी भरिन थालेपछि हात्तीको बथान प्रत्येक वर्ष उँचो क्षेत्र चुरेका वनमा आइपुग्ने गर्छ।
अरु वर्षको तुलनामा यस वर्ष हात्ती अलि चाँडै नेपालको चुरे जंगलमा प्रवेश गरेको स्थानीय बताउँछन्।
यसरी आएका हात्ती बस्ती नजिकैका वन क्षेत्रमा देखिन थालेपछि स्थानीय उपभोक्तालाई सामुदायिक वनमा नजानका लागि सचेत गराउन थालिएको छ।
हात्ती रहेको क्षेत्रमा घाँस, दाउरा, सोतरका लागि पुग्ने उपभोक्तालाई जानबाट रोकिएको वातावरण मध्यवर्ती सामुदायिक वनका अध्यक्ष लोकेन्द्र जोशीले बताए।
‘सामुदायिक वनको कार्यालय नजिकैको बाँसघारीमा दैनिकजसो बाँसका टुसा खान हात्ती आउने गरेका छन्’, उनले भने,’उपभोक्तालाई वन क्षेत्रमा नजानका लागि आग्रह गरेका छौँ।’
वन क्षेत्र भएर धारापानी, पिलरीफाँटा जाने स्थानीय बासिन्दालाई साँझबिहान हिँड्न रोक लगाइएको छ।
दिउँसो वन क्षेत्र भएर जानेलाई पनि सतर्कता अपनाएर जान आग्रह गरिएको छ।
कम्तीमा १० देखि १५ को सङ्ख्यामा हात्तीको बथान चुरे क्षेत्रमा रहेको छ।
कञ्चनपुर हात्तीको बथान