जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।
दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ ।
अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन मागेका थिए ।
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।
घुससहित पक्राउ