‘आईएमई खल्ती लिमिटेड’को एकीकृत कारोबार सुरु, देशकै ठूलो डिजिटल वालेट निर्माण

अक्षरपाटी
२०८२ साउन २ , बिहीबार ०२:०७ मा प्रकाशित

काठमाडौँ । ‘आइएमई खल्ती लिमिटेड’ को एकीकृत कारोबार सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आजबाट औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबार गर्नका लागि लाइसेन्स खल्ती आईएमी समूहलाई हस्तान्तरण गरेका छन् ।

एकीकृत कारोबारको सुरुवात कार्यक्रममा ‘आईएमई खल्ती लिमिटेड’का निर्देशक प्रवीण रेग्मीले यो मर्जर सेवामा नयाँ अवसर खोजीका लागि भएको बताए । उनले आजको दिन डिजिटल भुक्तानी क्षेत्रको मात्रै नभएर फिनटेक र बैंक तथा वित्तीय संस्थाका लागि पनि एक महत्त्वपूर्ण कदम भएको जिकिर गरे । फिनटेकका दुई ठुला संस्थालाई मर्जमा भएर जानू आफैँमा चुनौतीपूर्ण भएको बताउँदै मर्जरमा जान कुनै सङ्कट आफूहरूलाई नचाहिएको स्पष्ट पारे ।

दुई संस्था मर्ज भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने बिहीबारबाट दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै दुईको प्रयोगकर्ता सङ्ख्या १ करोड २७ लाख पुगेको छ ।

यसअघि खल्तीमा ७० लाख र आईएमईपे ५७ लाख प्रयोगकर्ता थिए । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’ लाई देशकै सबैभन्दा ठुलो डिजिटल वालेट बनाएको छ ।

यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास कम्पनीले गरेको छ ।

आईएमई आईएमई खल्ती लिमिटेड एकीकृत कारोबार