काठमाडौं। बालबालिकामा हुने मधुमेह (सुगर)को परीक्षण र उपचार अब निःशुल्क हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले त्यसको तयारी गरिरहेको बताएका हुन्।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा हिजो आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उनले अब सातवटै प्रदेशमा यस्तो सेवा सञ्चालनको तयारीमा सरकार रहेको बताए।
नेपालको स्वास्थ्य व्यवस्थामा बालबालिकामैत्री विशेष कार्यक्रम ल्याउनु जरुरी रहेको मन्त्री पौडेलको भनाइ थियो।
वंशानुगत रोगसहितका अन्य रोगका बारेमा विशेष कार्यक्रम ल्याएर बालबालिकालाई सम्बोधन गर्नलागेको उनले बताए।
‘बालबालिकामा हुने मधुमेह परीक्षण र उपचारका लागि सातवटै प्रदेशमा निःशुल्क गर्नेगरी हामीले काम अगाडि बढाइरहेका छौँ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘बुढ्यौलीतर्फ उमेर ढल्किँदै गएपछि मधुमेह हुन्छ भन्ने मानसिकता समाजमा रहेको छ, तर बच्चाहरुलाई पनि यो रोग लाग्ने रहेछ।’
बच्चाहरुलाई हुनसक्ने समस्याका बारेमा सबैले सावधानी अपनाउनुपर्ने र सरकारले उपचारमा सहजीकरण गर्नुपर्ने मन्त्री पौडेलले बताए।
‘वृद्धवृद्धा र बच्चाका सन्दर्भमा यसको भार राज्यले बहन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यस विषयमा विभिन्न संस्था बनाएर अन्यत्र जिम्मा लगाउन मिल्दैन।’
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा सुशील कोइरालाले मधुमेह दुई प्रकारको हुने उल्लेख गर्दै बालबालिकालाई लाग्ने यस रोगलाई ‘मधुमेह टाइप १’ नामकरण गरिएको बताए।
‘पाका उमेरका व्यक्तिलाई हुने मधुमेहमा शरीरले उत्पादन गर्ने इन्सुलिनको मात्रा थोरै हुने तथा औषधि खाएर पनि नियन्त्रण गर्न सकिने हुन्छ’, उनले भने, ‘बालबालिकामा हुने मधुमेहमा शरीरले इन्सुलिन उत्पादन गर्दैन, जीवनभर सुइबाट इन्सुलिन दिएर जीवनरक्षा गर्नुपर्ने हुन्छ।’
मधुमेह टाइप १ लागेका बालबालिकाको सङ्ख्या धेरै भएको हुनसक्ने भन्दै उनले नेपालमा अहिले ६०० बिरामी सूचिकृत रहेको बताए।
प्रदीप पौडेल मधुमेह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय