काठमाडौं । आइतबार सेयर बजारले ११ महिना यताकै नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार सेयर कारोबार रकम २१ अर्ब४६ करोड ४९ लाख नाघेपछि नयाँ रेकर्ड कायम भएको हो।
राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जामा नियामकीय व्यवस्था खुकुलो बनाएपछि सेयर बजारमा उत्साह बढेको ठानिएको छ।
गत २७ असारमा राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीति ल्याउँदै नियामकीय व्यवस्था खुकुलो बनाएर पुँजी बजारमैत्री नीति लिएको सन्देश दिएका थिए।
उनले १५ करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाहको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएका थिए ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि थप घटाउन मिल्ने गरी ब्याजदर करिडोरका सीमालाई पनि पुनरावलोकन गरिएको थियो।
यसको असर संवेदनशील मानिने सेयर बजारमा तत्काल देखिएको जानकारहरु बताउँछन्।
आइतबार नेप्से परिसूचक २८६७.७६ विन्दुमा अडिएको छ। कारोबार रकममा उच्च वृद्धि भए पनि नेप्से परिसूचक भने घटेको छ।
यसदिन ३१६ स्क्रिप्सको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर २१ अर्बमा खरिदबिक्री भए।
दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलम कारोबार भए। उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सानभी इनर्जीको सेयर १० प्रतिशतले बढयो।
यसैगरी ट्रेड टावर, शिव श्री हाइड्रोपावर र बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ९८ करोडमाथिको सेयर कारोबार भयो।
बुटवल पावरको ६४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सले ५६ करोड,नगदी ग्रुपको ५० करोड र सानिमा माइ हाइड्रोपावरको ४८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १०५ स्क्रिप्सको मूल्य बढ्दा १४४ वटाको घट्यो। आइतबार पाँच समूहको उपसूचक बढ्दा अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
आइतबार सेयर बजारमा देखिएको उत्साह सोमबार के हुन्छ ? आइतबार परिसूचक २९२२.८४ विन्दुमा पुगेर अन्तिममा २८७०.९५ विन्दुमा बन्द भएको थियो ।
यसले बजार परिसूचक तीन हजार बिन्दुमा पुग्ने सम्भावनालाई संकेत गरेको सेयर बजारका जानकारहरुको विश्लेषण छ।
नयाँ रेकर्ड नेप्से मौद्रिक नीति सेयर बजार