काठमाडौं। आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बीका लागि आजको दिनको विशेष महत्व हुन्छ।
आज देशभरका शिवालय र देवभूमीहरुमा एकाबिहानैदेखि बाक्लो उपस्थिति रहेको छ।
साउन महिनामा भगवान शिवको विशेष पूजाआजा गरेर मनाउने गरिन्छ। सोमबार शिवजीको प्रिय बारका रुपमा पनि मानिन्छ। त्यसैले साउन महिनाको सोमबार श्रद्धालुहरूले व्रत बस्ने, शिवलिंगमा जल चढाउने, पूजाआजा गर्ने, बेलपत्र अर्पण गर्ने तथा मन्त्र जप गर्ने धार्मिक परम्परा छ।
आजको दिन हिन्दू महिलाले हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिवको आराधना गर्ने चलन छ।
आजको दिन र साउन महिनाको सोमबार शिवको उपसानाले पाप नाश हुने, मनोकामना पुरा हुने र शुभाशुभ हुने भन्ने विश्वास छ।
साउने सोमबारका दिन निर्जला, फलाहार या एक छाक मात्र सात्त्विक भोजन गरेर व्रत गर्न सकिन्छ।
व्रतकर्ताले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गर्ने, मन्त्रजप र आरती गर्ने प्रथा रहिआएको छ।
आज यसरी व्रत र उपासना गर्ने भक्तजनहरुको देशभरका शिवालयहरुमा बाक्लो उपस्थिति रहेको छ।
निःशुल्क बस सेवा
साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर दर्शन गर्ने भक्तजनलाई सहज पहुँचका लागि यस वर्ष निःशुल्क बस सेवा उपलब्ध गराइएको छ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चारवटा बसले चक्रपथ घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्याइरहेका छन्।
पशुपतिनाथ साउने साेमबार