काठमाडौं। आफ्नो एक वर्षे कार्यकालबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा जानकारी गराउने भएका छन्।
बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्री ओलीले सरकारको १ वर्षे उपलब्धीबारे जानकारी दिनलागेका हुन्।
प्रमुख सत्तारूढ दल कांग्रेसका सात पूर्वपदाधिकारीले सभापति शेरबहादुर देउवालाई भेटेर गठबन्धन सरकार प्रभावकारी नभएको, भ्रष्टाचार मौलाएको, काण्डैकाण्डमा मुछिएको र प्रधानमन्त्रीले एकलौटी गरेकोलगायत गुनासा गरेका थिए।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसहित पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला र डा शशांक कोइराला तथा प्रवक्तासमेत रहेका पूर्वसहमहामन्त्री डा प्रकाशशरण महतले सरकार प्रभावकारी नभएको र प्रधानमन्त्रीले एकलौटी गरेको निष्कर्ष पार्टी सभापति देउवालाई सुनाएका थिए।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने छन्।
त्यस्तै सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (संचालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत पनि समेत कार्यसूची रहेको छ।