काठमाडाैंमा धुमपान गरे पाँच सय, जथाभावी पार्किङ, होडिङ बोर्डको एक लाखसम्म जरिवाना

अक्षरपाटी
२०८२ साउन ९ , शुक्रबार ०६:०७ मा प्रकाशित

काठमाडौं। अब काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलमा धूमपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने छ।

सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो।

महानगरभित्रको सार्वजनिक स्थलमा अत्याधिक धूमपान गर्ने काम भएको र जनगुनासा व्यापक आएकाले जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

‘सार्वजनिक स्थलमा धूम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धूम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो,’ पाण्डेले भने, ‘हालैको नगर सभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ।’

पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ।

सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिने उनले बताए।

मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिने उनले बताए।

त्यस्तै, सबै किसिमका ठूला सवारी साधन, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ ।

प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुनेछ।

पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ।

खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ।

स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ ।

सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ ।

काठमाडाैं महानगर जरिवाना