Logo
२६ साउन २०८२, सोमबार

वर्षदिनभरी महंगीको मार, चाडपर्वमा सुपथ मूल्य पसल !

अक्षरपाटी
२०८२ साउन १९ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं। आम जनताले वर्षभरी महंगी भोग्नु नौलो विषय होइन। कतिसम्म भने आज बजारमा ५० रुपैयाँ किलो किनेको आलु भोलिपल्ट ६० पुगिदिन्छ।

श्रम गरेर जेनतेन बालबच्चालाई पोषिलो खानाका रुपमा अन्डा र दूध खुवाउने श्रमिक वर्गले दिनैपिच्छे अन्डाको भाउमा सुन्न नसक्ने महंगी खेप्नुपरेको सत्य हाम्रा सामु छँदैछ।

त्यो मात्र होइन बजारमा मूल्य बढेको विषय न अनुगमन हुन्छ, न नियमन । मूल्य मात्र होइन कैयौँ अखाद्य वस्तु समेत विक्रिवितरण भएका समाचार बेलाबखत आइरहन्छन्।

सरकारले भने चाडपर्वका बेला मात्र जनतालाई राहत चाइने विषय महसुस गर्छ । यतिबेला सरकार त्यही तयारीमा जुटेको छ। सरकार चाडपर्व लक्षित सुपथ मूल्य पसलको तयारी थालेको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएको सरकारले यस वर्ष पनि त्यसको तयारी थालेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी तयारी थालिएको जानकारी दिए ।

यसअनुसार सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुनेछ । यस वर्षको दशैंको टीका असोज १६ गते र घटस्थापना असोज ६ गते परेको छ ।

सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिनेछन्। तर कुन सामग्रीमा कति रुपैयाँ छुट दिने भन्ने निर्णय भइसकेको छैन। सुपथ मूल्य पसल कहाँ–कहाँ राख्ने भन्ने पनि निश्चित हुन बाँकी छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता संरक्षण महाशाखाका एक अधिकारीले भने, ‘यस वर्ष पनि उपभोक्ताले सहुलियत पाउने गरी सुपथ पसल सन्चालन गर्ने तयारीमा जुटिसकेका छौं। छुट मूल्यको विषयमा कम्पनीबाट प्रस्ताव आएपछि छलफल गरेर निर्णयमा पुग्छौं।’

सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दछ। यस्तो छुट दुर्गम क्षेत्रमा भन्दा विशेष गरी सुगम सहरहरुमा प्राय सञ्चालन गरिँदै आएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल्ट ट्रेडिङ सुपथ मूल्य पसल