एजेन्सी। भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार बादल फाटेका कारण विनाशकारी बाढी र पहिरो आएको छ।
चारधाममध्ये एक गंगोत्री धाम क्षेत्रमा पर्ने धरालीको खीरगंगा नदीमा विनाशकारी बाढी आएको हो। बादल फाटेका कारण लेदोसहितको बाढीले ठूलो क्षति गरेको अनुमान गरिएको छ।
घटनाबारे प्रतिक्रिया दिँदै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उत्तरकाशीको धराली क्षेत्रमा बादल फाटेको सूचना आएको र खीरगंगा नदीमा जलस्तर बढ्नाले ठूलो क्षति भएको बताए।
लेदोसहितको बाढीका कारण २० देखि २५ होमस्टे र होटेल पुरिएका छन् । स्थानीयहरुका अनुसार सो क्षेत्रमा कम्तिमा १० देखि १२ मजदूर पुरिएका छन्।
बाढी पहिरोपछि सो क्षेत्रमा त्रासको वातावरण बनेको छ। उद्धार र रातको काम भइरहेको स्थानीय प्रशासनले जनाएको भारतीय मिडियाले उल्लेख गरेका छन्।
बाढी, पहिरोले कैयौँ घर, होटेल र पसलहरु पुरिएका छन् । सिंगो गाउँलाई बाढीले बगरमा परिणत गरिदिएको बताइएको छ। तस्विरमा पनि सो क्षेत्र तहसनहस बनाएको देख्न सकिन्छ।
घटनाको सूचनालगत्तै उत्तराखण्डको प्रहरी, एसडीआरएफ, एनडीआरएफ र भारतीय सेनाको टिम घटनास्थल पुगेको छ। उद्धारको कार्य युद्धस्तरमा सुरु गरिए पनि भारी वर्षाका कारण अवरुद्ध सडकका कारण राहत कार्यमा भने मुस्किल भइरहेको बताइएको छ।
भारतका केन्द्रीय गृहमन्त्री अहित शाहले पनि मुख्यमन्त्री धामीसँग कुराकानी गरेका छन्। उनले केन्द्र सरकारका तर्फबाट हरसम्भव मद्दत गर्ने आश्वासन दिएको संचारमाध्यमले उल्लेख गरेका छन्।
खासगरी पहाडी इलाकामा भारी वर्षाका कारण भूस्खलनको खतरा उत्तिकै रहेकाले आम नागरिकलाई खोला किनारबाट टाढा बस्न स्थानीय प्रशासनले अपिल गरिरहेको छ।
मौषम विभागले उत्तराखण्डमा १० अगस्तसम्म भारी वर्षाको सम्भावना अनुमान गरेको छ।
उत्तराखण्डको चारधाम क्षेत्रमा यसअघिका वर्षहरुमा पनि विनाशकारी बाढी र पहिरोका घटना भइसकेका छन्।
यो घटनाले फेरि उत्तराखण्डमा बारम्बार हुने प्राकृतिक विपत्तिलाई बल्झाइदिएको मात्र छैन विशेष तयारी र सतर्कताको सन्देश पनि दिएको छ।
उत्तराखण्ड खीरगंगा नदी बाढी पहिराे