Logo
२७ साउन २०८२, मंगलबार

३० पटक एसइईमा असफल, अन्ततः ५६ वर्षमा कक्षा १२ पास-हार नमान्ने चौधरीको प्रेरणादायक यात्रा

अक्षरपाटी
२०८२ साउन २२ , बिहीबार १२:०८ मा प्रकाशित

धनगढी । “उमेरले होइन, साहसले जितिन्छ जिन्दगी” भन्ने भनाइलाई अक्षरसः चरितार्थ गर्नुभएको छ कैलालीका भागीराम चौधरीले। जीवनको पाँचौँ दशक पार गरिसक्नुभएका चौधरीले ५६ वर्षको उमेरमा कक्षा १२ पास गर्नुभएको छ।

कैलारी गाउँपालिका–६, गदरियास्थित जनता माध्यमिक विद्यालयका कार्यालय सहयोगी चौधरीले सोही विद्यालयबाट परीक्षा दिएर यो सफलता हासिल गर्नुभएको हो। विद्यालयमा कार्यरत रहँदै पढाइलाई निरन्तरता दिँदै आउनुभएका उहाँले २०७९ सालमा ३० औं प्रयासमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गर्नुभएको थियो।

२०४८ सालमा पहिलो पटक एसएलसी (हालको एसइई) मा सहभागिता जनाउनुभएका चौधरीले पटक–पटक असफलता बेहोर्दा पनि हार मान्नुभएन। अन्ततः २०७९ सालमा २ जिपिए ल्याएर एसइई पास गर्न सफल हुनुभएको थियो।

लगातारको मिहिनेत, धैर्य र दृढ संकल्पका कारण चौधरीले कक्षा १२ पनि उत्तीर्ण गर्दै विद्यालय परिवार र स्थानीय समुदायलाई गर्व गर्ने मौका दिनुभएको छ।

शिक्षक यामु शर्माका अनुसार चौधरीको सफलता विद्यालयकै लागि मात्र नभई सम्पूर्ण समाजका लागि प्रेरणा हो। “उहाँको अठोट, लगन र निरन्तरताले हामी सबैलाई प्रेरणा दिएको छ,” शर्माले भन्नुभयो।

कक्षा १२ पास गरेपछि चौधरीले स्नातक अध्ययनको तयारी गर्नुभएको बताउनुभएको छ। “समयले साथ दियो भने स्नातकसम्म पढ्ने योजना छ,” चौधरीको भनाइ छ।

उहाँ २०५२ सालदेखि कार्यालय सहयोगीको रूपमा जनता माविमा कार्यरत हुनुहुन्छ।