Logo
७ भदौ २०८२, शनिबार

विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघ पुर्याउने इजरायलको तयारी

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार १२:०८ मा प्रकाशित

इजरायल । इजरायल सरकारले प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीका लागि पहल थालेको छ।

जोशीको अवस्था अज्ञात रहेका बेला उनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनकी आमा पद्मा र बहिनी पुष्पालाई इजरायल झिकाउने र संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारी गरेको हो ।

उनीहरूको भिसालगायतका कागजातको काम सकिएको र छिट्टै झिकाइने विदेश मन्त्रालयका अधिकारीले बताएका छन् ।

राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारको योजना छ।

‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना छ,’ विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीले भने ।

हमासको नियन्त्रणमा रहेका ५० मध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको कार्नीले बताए ।

‘ती २० जनामध्ये को जीवित छन् र क–कसको मृत्यु भइसकेको छ, हामी प्रस्ट भन्न सक्ने अवस्थामा छैनौं,’ उनले भने।

इजरायल स्पेसल फोर्सका क्याप्टेन नादभ बेन याहुदाले विपिनको रिहाइमा सक्दो प्रयास गरिरहेको बताए।

‘विपिनलाई लिएर म नै काठमाडौं आउनेछु, त्यसमा हामी सफल हुने विश्वास छ,’ उनले भने।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले विपिनको पछिल्लो अवस्थाबारे इजरायल सरकार वा अन्य स्रोतले प्रस्ट भन्न नसकिरहेको जानकारी दिए।

विपिनबारे हमासका तर्फबाट पनि केही जानकारी सार्वजनिक भएको छैन।

इजरायल विपिन जोशी हमास