Logo
१४ कात्तिक २०८२, बिहीबार

‘हराभरा भविष्यको प्रतिज्ञा’सहित चैतन्य पाठशालाका विद्यार्थीले राेपे बिरुवा

अक्षरपाटी
२०८२ साउन २३ , शुक्रबार ०९:०८ मा प्रकाशित

धनगढी । शिक्षा मात्र होइन, सँस्कार, सँस्कृति, श्रम र सदासयताको समेत पाठ पढाउने उद्देश्यले धनगढीमा स्थापित चैतन्य पाठशालका विद्यार्थीले वृक्षारोपण गरेका छन्।

विद्यार्थीले ज्ञान आर्जन मात्र होइन उनीहरुले आर्जेको ज्ञान विस्तारको सँस्कार समेत सुरु होस भन्ने उद्देश्यले सञ्चालित चैतन्य पाठशालाका विद्याथीले विश्व भू–संरक्षण दिवस–२०८२ को अवसरमा वृक्षारोपण गरेका हुन्।

वातावरण संरक्षण र हरियाली विस्तारको महत्वलाई विद्यार्थीमा बोध गराउँदै पाठशालाले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

यो कार्यक्रमले विद्यार्थीमा प्रकृति प्रेम जागृत गर्दै त्यसको संरक्षण र दिगो विकासप्रति चेतना जगाउने विश्वास पाठशालाको छ।

कार्यक्रम अन्तर्गत कक्षा ११ का विद्यार्थीले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेर भविश्यमा हराभरा र सुन्दर बनाउन उत्साहपूर्वक सहभागी जनाएका थिए।

यसै गरी, कक्षा ८, ९ र १० का विद्यार्थीले देवहरिया सामुदायिक वनसँगको सहकार्यमा करिब १०० बिरुवा वन क्षेत्रभित्र रोपेका छन्।

यो कार्यले भविश्यमा स्थानीय वन क्षेत्रको जैविक विविधता थप सवल बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा देवहरिया सामुदायिक वनका अध्यक्ष भागीराम चौधरी, वनका अन्य पदाधिकारीहरू, धनगढी उपमहानगरपालिकाका सरसफाइ कार्यक्रम संयोजक रवि तामाङ, साथै चैतन्य पाठशालाका शिक्षक–पदाधिकारीहरूको सक्रिय सहभागिता थियो।

उपस्थित सबैले विद्यार्थीलाई वातावरण संरक्षण र हरियाली विस्तारमा निरन्तर संलग्न रहन प्रोत्साहित गर्दै आगामी दिनहरूमा यस्ता हरित पहलहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

वृक्षारोपण केवल एक दिने अभियान नभई दीर्घकालीन वातावरण संरक्षण, माटो र जल स्रोतको संरक्षण तथा जैविक विविधता जोगाउने एक महत्त्वपूर्ण कदम भएको चैतन्य पाठशालाका निर्देशक कटक ब सिंहले बताए।

सहभागीहरुले वन विनाश भइरहेको अहिलेको अवस्थामा वृक्षारोपण र संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने र वातावरणमैत्री गतिविधिलाई निरन्तरता दिन विद्यार्थीलाई आह्वान गरे।

विद्यालयले पनि आफ्नो सामाजिक दायित्व अन्तर्गत आगामी दिनहरूमा यस्ता हरित गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

विश्व भू–संरक्षण दिवसको अवसरमा चैतन्य पाठशालाद्वारा सम्पन्न गरिएको वृक्षारोपण कार्यक्रम, कार्यक्रम मात्र नभएर ‘हराभरा भविष्यको सपना बोकेको एउटा प्रतिज्ञा’ भएकाले यो कदम अरुका लागि प्रेरणा बन्ने विश्वास गरिएको छ।

चैतन्य पाठशाल वृक्षारोपण