Logo
२६ साउन २०८२, सोमबार

कैलाली कारागारमा अझै प्रवेश गर्न सकेन सुरक्षा निकाय, अस्पतालको इमर्जेन्सीमा अटाएनन् घाइते

अक्षरपाटी
२०८२ साउन २४ , शनिबार ०४:०८ मा प्रकाशित

कैलाली। शुक्रबार मध्यराति कैलाली कारागारमा झडप भएपनि शनिबार दिउँसोसम्म पनि घटनास्थलमा सुरक्षा निकायका पदाधिकारी नै जान सकेका छैनन्। 

कारागारमा कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कारागार कैदीहरुको नियन्त्रणमा छ।

‘अहिलेसम्म पनि हामीहरू कारागारभित्र पस्न सकेका छैनौं। उनीहरू आक्रोसित छन्। थप घटना नहोस् भनेर नै हामीले भित्र जान पनि खोजेका छैनौं’ प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले भने।

जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी हमाल, कैलालीका प्रहरी उपरीक्षक बालनसिह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए। तर कैदीहरूले उनीहरूलाई कारागारभित्र पस्न दिएनन्।

कारागारमा शुक्रबार राती भएको सामूहिक झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। 

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार घाइतेहरूमध्ये अधिकांशका हात खुट्टा भाँचिएका छन्।

उनीहरूको उपचारका लागि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सीमा स्थान नपुगेपछि नजिकै रहेको कोरोनाकालमा बनाइएको भवनमा सारिएको छ। 

कैदीबीच झडप कैलाली कारागार