कैलाली । शुक्रबार कैलाली कारागारमा अप्रिय घटना भयो । एक जना कैदीबन्दीको ज्यानै जाने र ४९ जना घाइते हुने गरी कैदीबन्दीहरुबीच हिंसात्मक झडप भयो।
शुक्रबार राति कारागारको ब्लक ए मा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ब्लक बी मा रहेका कैदीबन्दीमाथि आक्रमण गरे।
राति भएको झडपमा धनगढी–४ का भरत चौधरीको मृत्यु भयो भने ४९ जना घाइते भए ।
घटना त्यतिमा मात्र रोकिएन, कारागारभित्र कारागार प्रशासन, सुरक्षाकर्मी त के शनिबार अबेर दिउँसाेसम्म पनि मानवअधिकारकर्मी र पत्रकार समेत जान पाएनन्।
कैदीबन्दीहरुले प्रवेशद्वारमा शिलिण्डर र फलामे रड राखेर कसैलाई पनि प्रवेश गर्न दिएनन्। कारागार रणमैदानकै अवस्थामा रह्यो।
अस्पतालको इमर्जेन्सीमा उपचारका लागि ठाउँ नपुगेर कोरोना ब्लकमा उपचार भइरहेका घाइते कैदीहरुका आफन्तलाई समेत भेट्न दिइएन।
विभिन्न सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी र सरकार समेत मुकदर्शकजस्तै बन्यो।
शनिबार अबेर दिउँसो राष्ट्रिय मानवधिकारको टोलीले कारागारको अवस्था बुझेर भन्योः फितलो सुरक्षा व्यवस्थाका कारण कारागारमा हिंसात्मक र अप्रिय घटना भयो ।
आयोगले कारागार प्रशासनको गम्भीर लापरवाही र फितलो सुरक्षाका कारण हिंसात्मक घटना भएको भनेपछि गृहमन्त्री रमेश लेखकले विभिन्न सुरक्षा निकायका प्रमुख, सचिवलगायत उच्च अधिकारीहरुसँग छलफल गरे।
वर्षौँदेखि क्षमताभन्दा बढी कैदी (करिब १५० जनाको क्षमता ७०० भन्दा बढी कैदी) राखिएकोबारे बेखबर सरकार अधिकृत नेतृत्वको कारागार खरिदारको भरमा छ भन्ने विषयमा पनि सायद घटना हुँदासम्म बेखबर थियो।
त्यसैले आयोगले कारागार प्रशासनको गम्भीर लापरवाही र फितलो सुरक्षाका कारण हिंसात्मक घटना भएको भनेपछि सरकारले शनिबार हतारहतार कारागारमा जेलर पठाएको छ।
कैलाली कारागारको जेलर बसन्त खत्रीको ठाउँमा सरकारले जालन्धर भुसाललाई पठाइएको हो।
अधिकृतको दरबन्दी रहेको कारागार घटना हुनेबेलासम्म भने खरिदारको भरमा चलिरहेको तथ्य बाहिर आएको छ।
अधिकृत खत्री करिब तीन साताअघिदेखि अस्वस्थ भएको भन्दै सुब्बा ज्ञानेन्द्र ओझालाई जिम्मेवारी दिएर अनुपस्थित रहेका थिए। ओझाले पनि केही दिन पहिले खरिदार रामकुमार चौधरीलाई जिम्मेवारी दिएका थिए। यसरी घटना हुँदा कारागार खरिदारको भरमा थियो।
शनिबार दिउँसोसम्म पनि कारागाराको अवस्था असामान्य बनिरहँदासमेत प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत मुकदर्शक बनिरहने अवस्था थियो।
घटनाको सूचना प्रदेश सरकार, केन्द्र सरकारले पाए पनि ढिलो गरी मात्र जेलर फेर्नेदेखि घाइतेको उपचारमा चासो देखाउने काम भएको भन्दै आफन्तले गुनासो गरेका थिए।
कारागारको अवस्था सामान्य बनाउन प्रहरीले प्रयास गरे पनि स्थिति थप बिग्रन नदिन कैदीबन्दीले नियन्त्रणमा लिएको कारागारमा बल प्रयोग भने नगरेको प्रहरीको भनाइ छ।
सरकारले जेलर फेरेपछि घटनाबारे छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।
समितिले १० दिनभित्र प्रतिवेदन दिनुपर्नेछ। अहिले कारागारको स्थिति सामान्य बन्दै गएको बताइएको।
कैदीबन्दी झडप कैलाली कारागार